मुख्यालयमा भ्रातृ संगठनहरूको महाधिवेशन माग्दै आन्दोलन, कांग्रेस निर्णय गर्न हच्किँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
3.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ। पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका महत्त्वपूर्ण विषयमा छलफल गर्नका लागि यो बैठक बोलाइएको हो।
बैठक दिउँसो १ बजेदेखि पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्नेछ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय समिति बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।
मुख्यतया, गठबन्धन सरकारको कार्यप्रगति को समीक्षा गरिनेछ, जसमा संघीय र प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले आ-आफ्नो क्षेत्रको काम कारबाहीबारे जानकारी गराउनेछन्। गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि गहन छलफल हुनेछ।
बैठकले भ्रातृ संस्थाहरूको व्यवस्थापनलाई प्राथमिकता दिनेछ। तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिइनेछ ।
यसका साथै पार्टीको सक्रिय सदस्यता वितरण र नवीकरणको प्रगतिबारे पनि महामन्त्रीले बैठकमा जानकारी गराउने कार्यक्रम छ।
चैतसम्म दिएको अन्तिम म्याद गुजारेका भ्रातृ तथा भगिनी संस्थाका तदर्थ समिति विघटन गर्न केको डर ?
कांग्रेसले लामो समयदेखि टिकिरहेका भ्रातृ तथा भगिनी संस्थाका तदर्थ समिति विघटन गर्न तदारुकता देखाएको छैन ।
कांग्रेससँग जोडिएका सबै संस्थालाई गत चैतभित्र महाधिवेशन गर्न पार्टीले निर्देशन दिएको थियो । त्यो समयभित्र केही संघले महाधिवेशन गरे पार्टी संगठनका ठूला खम्बा मानिएका नेविसंघ, तरुण दल तथा महिला संघले महाधिवेशन गर्न सकेनन् ।
अहिलेसम्म महाधिवेशन नगर्नुको कारण पनि पेश गरिएको छैन । त्यतिमात्र हैन पार्टीले स्पष्टीकरण पनि सोधेन । अझ तदर्थ समितिकोसमेत वैधता गुमाएका ती संघका नेतृत्वले जिल्ला जिल्लामा समिति विघटन गरेर आफू सुहाउँदो टिम ल्याएका छन् ।
महाधिवेशन गर्नुपर्ने माग लिएर पार्टी कार्यालयमा जानेहरूलाई भने प्रहरी लगाएर लखेटिने गरिएका दृष्टान्त पनि छन् ।
महिला संघका २० जनाले महाधिवेशन माग्दै केन्द्रीय सदस्यबाट राजीनामा दिएको लामो समय भइसकेको छ ।
तरुण दलले पनि पटक पटक महाधिवेशन मागेको छ । महाधिवेशन माग्नेले कुटाइ नै खाएका छन् । अहिले पनि पार्टी मुख्यालयमा आइतबारदेखि दुई जना आमरण अनसनमा बसेका छन् ।
नेविसंघले पनि पटक पटक आन्दोलन गरेको छ । आजै पनि महाधिवेशनको माग गर्दै प्रदर्शन गर्दैछ ।
पार्टीले महाधिवेशन नगर्ने तदर्थ समितिलाई भङ्ग नगरेर झन् तदर्थ समितिलाई पुरस्कृत गरेको आरोप छ ।
तदर्थ समिति लम्बिदा अगाडि बढ्न चाहने नेताहरू खुम्चन बाध्य भएका छन् । यसले सिंगो पार्टीको गतिलाई नै रोकेको आरोप नेतृत्वले खेपेको छ ।
नेतृत्वले यसअघि नै तदर्थ समितिको म्याद थप्ने निर्णय सार्वजनिक गर्न खोजे पनि अन्तिम समयमा आएर हच्कियो ।
यदि विधि र विधान मिच्दै जाने हो भने कांग्रेसका क्रियाशील सदस्यहरू घट्ने निश्चित छ । यसले कांग्रेसकै महाधिवेशन पनि कानून मिच्न उद्दत देखिँदैछ भन्ने संकेत हो ।
त्यसको असर ०८४ को आम निर्वाचनमा देखिनेमा दुईमत छैन ।