नेपाललाई 'दैनिक १८ घण्टा काम गर्ने' प्रधानमन्त्री चाहिएको छ - महेश आचार्य [भिडियो]
दुई देशहरूलाई एकीकृत गर्न छाडेर अनावश्यक टिप्पणी र बहस गर्नमा बस्यौं भने कसरी हामीले हाम्रो देशको अस्मिताको रक्षा गर्न सक्छौं ?
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
858
Shares
काठमाडौँ। पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई तीव्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन्। बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
आचार्यले अहिले देशलाई 'दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री' को खाँचो रहेको टिप्पणी गरे। उनले अब नेपालमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकाले आर्थिक एजेन्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
"अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ। आर्थिक एजेन्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ," उनले भने।
विश्व अर्थतन्त्रको हिसाबले छिमेकी देशहरू चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै आचार्यले नेपाल अनावश्यक बहसमा अल्झिनु नहुने बताए। उनले छिमेकी मुलुकहरूको आर्थिक प्रगतिलाई मध्यनजर गर्दै नेपालले पनि आफ्नो आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।
"छिमेकी देश भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्रियामा पुगेको छ। दोस्रो ठूलो अर्थतन्त्र छिमेकी मुलुक चीन छ। यी दुई देशहरूलाई एकीकृत गर्न छाडेर अनावश्यक टिप्पणी र बहस गर्नमा बस्यौं भने कसरी हामीले हाम्रो देशको अस्मिताको रक्षा गर्न सक्छौं?" आचार्यले प्रश्न गरे। उनले देशको राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि ऊर्जावान युवाहरूको उपयोग गर्न जरुरी रहेको बताए। युवाहरूलाई विदेशमा प्रयोग हुन बाध्य पार्ने कामले देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।
आर्थिक सुधार र रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने उनको जोड थियो।