उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले छ वटा पुलमा क्षति, होटल र घरका बासिन्दा स्थानान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
790
Shares
मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा मंगलबार साँझ करिब तीन घण्टा आएको लेदोसहितको भीषण बाढीले छवटा पुलमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार, बाढीले दुई वटा पक्की मोटरेबल पुल (एक लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा र अर्को लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन) मा क्षति पुगेको छ।
त्यसैगरी, त्यस क्षेत्रमा रहेका एउटा फलामे पुल र तीन वटा काठेपुल पनि बाढीले बगाएर क्षति पुर्याएको छ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बाढीका कारण जोखिममा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमान्थाङ-४ स्थित न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्। उनका अनुसार, बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा भने कुनै क्षति पुर्याएको छैन।
बाढीको सतह अहिले केही मत्थर हुँदै गए पनि सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा नौ जनाको टोली खटिएको छ। खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले बाढीको बहाव कम भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।