विन्डहोक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार दक्षिण अफ्रिकी देश नामिबिया भ्रमणमा पुगेका छन् । नामिबियाकी पहिलो महिला राष्ट्रपति डा नेतुम्बो नन्दी–नदैतवाहले राजधानी विन्डहोकस्थित स्टेट हाउसमा प्रधानमन्त्री मोदीलाई स्वागत गरिन् ।
दुई नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरे । यसपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति नन्दी–नदैतवाहबीच प्रतिनिधिमण्डल स्तरमा वार्ता भयो । दुवै देशले एकअर्कासँग समझदारीपत्र (एमओयू) आदानप्रदान गरे ।
विन्डहोकस्थित स्टेट हाउसमा प्रधानमन्त्री मोदीलाई २१ तोपको सलामी दिइएको थियो । उनले सम्मान गारत प्राप्त गरे । यसअघि विन्डहोक विमानस्थलमा प्रधानमन्त्री मोदीलाई नामिबियाको परम्परागत नृत्यले स्वागत गरिएको थियो।
प्रधानमन्त्रीले कलाकारहरूसँग ढोल पनि बजाए । यो प्रधानमन्त्री मोदीको नामिबियाको पहिलो भ्रमण हो र भारतीय प्रधानमन्त्रीको तेस्रो भ्रमण हो । २७ वर्षपछि भारतीय प्रधानमन्त्री नामिबियाको भ्रमणमा छन् ।
यसअघि सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले नामिबियाको भ्रमण गरेका थिए ।
१९९० मा तत्कालीन प्रधानमन्त्री वीपी सिंह, पूर्व प्रधानमन्त्री राजीव गान्धी र अन्य ठूला नेताहरू नामिबियाको पहिलो स्वतन्त्रता दिवसमा त्यहाँ गएका थिए।