भारी वर्षाका कारण देशभर ११ राजमार्ग पूर्ण अवरुद्ध, अन्य केही एकतर्फी सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
741
Shares
काठमाडौँ। मुलुकभर शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, पूर्ण रूपमा अवरुद्ध हुने राजमार्ग तथा सडकखण्डहरूमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, र पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन्।
यस्तै, अन्य अवरुद्ध राजमार्गहरूमा रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बागलुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर, र बैतडीस्थित महाकाली राजमार्ग पर्छन्।
यसैगरी, केही सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। जसमा काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर, र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग समावेश छन्।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आवश्यक परेमा यात्रा स्थगित गर्न सल्लाह दिइएको छ। बाढी र पहिरोको थप जोखिम रहेकाले सतर्क रहन पनि सम्बन्धित निकायले आग्रह गरेका छन्।