नेप्सेमा झिनो सुधार, कारोबार रकम सवा २१ अर्ब नाघ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
617
Shares
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज शून्य दशमलव ३२ अङ्कको झिनो सुधार देखिएको छ। योसँगै नेप्से परिसूचक २,८७०.९५ बिन्दुमा कायम भएको छ। यद्यपि, कारोबार रकम भने २१ अर्ब ४६ करोड नाघेको छ, जसले बजारमा ठूलो मात्रामा लगानीकर्ताको सक्रियता देखाउँछ
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर १ लाख ७८ हजार १७६ पटक खरिदबिक्री भएका छन्। यसबाट २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ समूह १.३८ प्रतिशत, विकास बैंक ०.०८ प्रतिशत, वित्त २.२६ प्रतिशत, जलविद्युत् ०.४२ प्रतिशत, लगानी ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१२ प्रतिशत, लघुवित्त ०.०२ प्रतिशत र व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।
यसको विपरीत, होटल तथा पर्यटन समूह १.२४ प्रतिशत, जीवन बीमा १.४० प्रतिशत, म्युचुअल फन्ड ०.२५ प्रतिशत, निर्जीवन बीमा १.३७ प्रतिशत र अन्य समूह ३.३६ प्रतिशतले बढेका छन्।
आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य भने ८.८८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।
कारोबार रकमका आधारमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको ९८ करोड ५५ लाख ५२ हजार ९८९ रुपैयाँ बराबरको शेयर किनबेच भई सबैभन्दा बढी कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख ७ हजार २०० कित्ता शेयर खरिदबिक्री भएको छ।