arrow

चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी

नेपालमा बिकाजीका प्रिमियम स्न्याक्स उत्पादन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
chaudhari-groups.jpg

काठमाडौँ। नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ।  चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन्। नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै कम्पनीले पुँजी संयुक्त रूपमा लगानी गर्ने भएकाले उत्पादन छिट्टै सुरु हुने र बजारमा उपलब्ध हुने दुवै कम्पनीहरूले विश्वास लिएका छन्।

सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीले चौधरी ग्रुपको नेपालमा विश्व स्तरीय नयाँ ब्राण्ड विस्तार गर्ने योजनामा थप मद्दत पुगेको बताए । “यसले रोजगारी सिर्जना गर्ने, आपूर्ति शृङ्खलालाई सुदृढ बनाउने र खाद्य उद्योगलाई गतिशील बनाउन मद्दत गर्नेछ। हामी भारतका विविध स्वादलाई नेपालीहरूको दैनिक जीवनको सहज हिस्सा बनाउने लक्ष्यमा छौँ,” चौधरीले भने ।

त्यस्तै, बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार नेपाल एक रणनीतिक बजार हो र यो सम्झौता बिकाजीको विश्वव्यापी विस्तार यात्रामा महत्त्वपूर्ण उपलब्धि समेत हो । सीजीको बलियो बजार नेतृत्व र गहिरो स्थानीय बुझाइको संयोजनले हामीलाई नेपाली उपभोक्ताका लागि गुणस्तरीय र सुलभ उत्पादन पुर्‍याउन सक्षम बनाउनेछ। व्यापारभन्दा बाहिर पनि यो साझेदारीले समुदाय सशक्तीकरण, आपूर्ति शृङ्खला मजबुत बनाउने र नेपालकै खाद्य प्रणालीलाई उन्नत बनाउने लक्ष्य राखेको छ,” उनले भने ।

नेपालको एफएमसीजी बजार अहिले तीव्र गतिमा विस्तार भइरहेको छ। करिब ३ करोड जनसङ्ख्या र सहरी उपभोक्तामाझ मागको वृद्धिसँगै, एफएमसीजीको बजार वार्षिक २० प्रतिशतको दरले वृद्धि भइरहेको छ । नेपालमा एफएमसीजीको बजार १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। बिकाजीको भरोसायोग्य ब्रान्ड र उत्पादनको उत्कृष्टता तथा सीजीको स्थानीय दक्षता, राष्ट्रव्यापी वितरण नेटवर्क र उपभोक्ता बुझाइको संयोजनले यो साझेदारीलाई दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

रणनीतिक साझेदारी अन्तर्गत चौधरी ग्रुपको नेतृत्वमा नेपालमै अत्याधुनिक उत्पादन तथा प्याकेजिङ्ग इकाई स्थापना गरिनेछ। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, स्थानीय उद्यमशीलता र आपूर्ति शृङ्खला सुदृढ बनाउनेछ, स्वच्छ, सुलभ र नेपाली संस्कृतिसँग मेल खाने उत्पादन उपभोक्तासम्म पुर्‍याउनेछ र नेपाललाई क्षेत्रीय खाद्य निर्यातमा बलियो मुलुकका रूपमा स्थापित गर्नेछ। दुवै कम्पनीले नवप्रवर्तन प्रवर्द्धन, समुदाय सशक्तीकरण र नेपालकै आर्थिक तथा औद्योगिक वृद्धिमा योगदान पुर्‍याउने साझा अडान व्यक्त गरेका छन्।
चौधरी ग्रुप हाल ३५ देशमा २०० भन्दा बढी कम्पनी सञ्चालनमा गरिरहेको नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी हो। एफएमसीजी, आतिथ्य, शिक्षा, पूर्वाधार, अटोमोबाइल तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरी ग्रुप विश्वव्यापी रूपमा मुख्यतः ‘वाई वाई’ नूडल्सका लागि परिचित छ।

बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड १९९३ मा स्थापना भई बिकानेरमा मुख्यालय रहेको भारतको तेस्रो ठूलो एफएमसीजी ब्रान्ड हो। भुजिया, नमकीन, मिठाई, पापड र फ्रोजन फुड्सजस्ता उत्पादनमा यसको पोर्टफोलियो छ, जसका परिकारहरू २५ भन्दा बढी देशमा निर्यात हुन्छन् र भारतसहित विश्वभर लाखौँ उपभोक्तालाई सेवा पुर्‍याइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ