जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध: भदौ १५ पछि मात्रै टिप्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
822
Shares
जुम्ला । जुम्लाका किसानहरूलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ। कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ गतेपछि मात्र स्याउ टिप्न आग्रह गरेको हो।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, यदि कसैले यो सूचना विपरीत काँचो स्याउ टिपेको वा बरिमा खरिद गरेको पाइएमा किसान र व्यापारी दुवैलाई कानुनी कारबाही गरिनेछ।
काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकतामा असर पर्ने र यसको दीर्घकालीन 'ब्रान्ड' तथा बजार मूल्यमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले यो निर्णय गरिएको हो। जिल्लाका आठवटै स्थानीय तहका कृषि शाखा र स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत यस बारेमा जानकारी गराइएको प्रमुख अधिकारीले बताए।
कृषि विज्ञहरूका अनुसार, भदौ दोस्रो सातापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ। स्याउको परिपक्वता र रङ्ग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानहरूलाई निर्देशन दिइएको प्रमुख अधिकारीले जानकारी दिए।
जिल्लामा करिब १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउ खेती गर्ने गरेको तथ्याङ्क छ। पछिल्लो समय स्याउ खेतीको क्षेत्रसमेत विस्तार हुँदै गएको छ। जिल्लामा चार हजार बढी हेक्टर जमिनमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ।
त्यसैगरी, तातोपानी गाउँपालिकाले पनि स्याउ बगैँचा धनी र स्याउ व्यापारीहरूलाई आगामी भदौ १५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरिएको बताए।