arrow

कनकासुन्दरी माविमा तोडफोड, डिजिटल उपकरणमा ठूलो क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
kanaka-sundari-school-kumla.jpg

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ।

घटनामा विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री र पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात व्यक्ति वा समूह विद्यालय परिसरमा प्रवेश गरी मुख्य विद्युत् लाइनको एमसीबी बन्द गरेर विद्युत्का तार काटेको थियो। त्यसपछि कार्यालय तथा कक्षाकोठामा रहेका विभिन्न सामग्रीमा तोडफोड गरिएको थियो।

विद्यालयका अनुसार १० ओटा कम्प्यूटर सीपीयू, दुई ओटा ल्यापटप, स्मार्ट डिजिटल बोर्डको पावर केबल, ईहाजिर प्रणाली, तीन ओटा सीसीटीभी क्यामेरा, आरजे केबल, पाँच ओटा हेड माइक, माइक हर्न तथा दुईटा प्रोजेक्टरमा क्षति पुगेको छ।

घटनापछि विद्यालयबाट करिब सय मिटर तल खोलाको किनारमा फालिएको अवस्थामा केही सामग्री फेला परेको छ। त्यहाँबाट भित्ते घडी, डेस्कटप कम्प्यूटर तथा सीसीटीभी क्यामेरा लगायतका सामग्री बरामद गरिएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार घटनाको सबैभन्दा गम्भीर पक्ष कक्षा ११ का विद्यार्थीहरूको परीक्षाका उत्तरपुस्तिका जलाउने प्रयास हो। सुरक्षित रूपमा राखिएका उत्तरपुस्तिकामा आगो लगाइएको र केही उत्तरपुस्तिका आंशिक रूपमा जलेको अवस्थामा फेला परेको प्रधानाध्यापक न्यौपानेले बताए।

घटनाको कारणबारे अनुसन्धान जारी रहे पनि परीक्षा वा विद्यालयसँग सम्बन्धित कुनै रिसइबीका कारण यस्तो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको विद्यालयको भनाइ छ।

कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन रोकायाले शैक्षिक संस्थामाथि भएको यस्तो आपराधिक गतिविधि दुःखद् र निन्दनीय भएको बताए।

उनले दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै क्षतिको यथार्थ विवरण सङ्कलन गरी आवश्यक सहयोग र पुनःस्थापनाका लागि गाउँपालिकाले पहल गर्ने जानकारी दिए।

विद्यालयका निमित्त प्रधानाध्यापक मरिचमान काफ्लेद्वारा हस्ताक्षरित पत्रमार्फत प्रहरी चौकी गोठिज्युला, जुम्लालाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अनुरोध गरिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा भएको तोडफोड र आगजनीको प्रयासले शिक्षा क्षेत्रमा नकारात्मक सन्देश गएको भन्दै दोषीको तत्काल पहिचान गरी कानूनी कारबाही गर्न माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ