जुम्लामा चट्याङ पर्दा भेडा गोठालो गएका एक युवकको मृत्यु, दुई जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
166
Shares
काठमाडौँ । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा बुधबार साँझ चट्याङ पर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय १८ वर्षीय रवीन्द्र रावतको चट्याङ लागेर मृत्यु भएको हो।
उक्त घटनामा परी स्थानीय २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार घाइते दुवै जनाको अवस्था अहिले सामान्य छ। चट्याङका कारण पाटनमा केही भेडा-बाख्रा समेत मरेको प्रारम्भिक जानकारी आए पनि त्यसको यकिन विवरण आउन बाँकी छ।
स्थानीयवासीले राति घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी बड्कीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। अहिले घटनाबारे थप अनुसन्धान हुनुका साथै पशुचौपायाको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।