लुम्बिनी, सुदूरपश्चिम, कोशी र मधेसमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
679
Shares
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपासमै रहेको जानकारी दिएको छ। यसले गर्दा आगामी २४ घण्टाभित्र देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना देखिएको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा सामान्यतया आंशिक बदली रहनेछ। सुदूरपश्चिमसहित पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। तराई भेगमा भने आंशिक बदली हुनेछ। मधेस र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले सम्भावित वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति सचेत रहन सबैलाई अनुरोध गरेको छ। यस वर्षाले भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम बढाउन सक्नेछ। साथै, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना पनि छ।
अतः, अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकार भएका सबै निकायलाई सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।