नेपालमा लागुऔषधको अवस्था: २१ प्रतिशत कैदीबन्दी यसै मुद्दाका
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
618
Shares
काठमाडौँ । नेपाल प्रहरीले देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये २१.६२ प्रतिशत अर्थात् ६ हजार ८ सय ८९ जना लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको बताएको छ। लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार नेपालमा लागुऔषधको प्रयोग र ओसारपसार एक प्रमुख समस्या बनेको छ।
कोइरालाका अनुसार, नेपालमा ब्राउन सुगरको प्रयोग मुख्य रूपमा हुने गरेको छ, र यो शतप्रतिशत भारतबाट आयात हुन्छ। त्यसैगरी, ९० प्रतिशत नियन्त्रित फर्मास्युटिकल लागुऔषध पनि भारतबाटै नेपालमा आउने गरेको छ। नेपालमा पनि लुकिछिपी गैरकानुनी रूपमा गाँजा र अफिमको खेती हुने गरेको छ।
लागुऔषध तस्करीका लागि नेपाललाई एक ट्रान्जिट प्वाइन्टको रूपमा पनि प्रयोग गरिन्छ। कोकिन र खैरो हिरोइन जस्ता लागुऔषधहरू विभिन्न देशबाट नेपाल हुँदै भारत र युरोपेली देशहरूमा पुग्ने गरेको पाइएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि दुर्व्यसनीमाथि भन्दा पनि उनीहरूलाई प्रयोग गरेर बिक्री गर्ने गिरोहलाई निशाना बनाउने गरेको छ। दुर्व्यसनीहरूलाई कारबाही गर्नुभन्दा परिवारको जिम्मा लगाउने वा सुधार केन्द्रमा पठाउने रणनीति अपनाइएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको कार्यक्षमता बढाउन कोइरालाले २३ जना परिणाम दिन नसक्ने र काममा रुचि नभएका कर्मचारीहरूलाई फिर्ता पठाएका छन्। हाल ब्युरोमा ७८ जनाको दरबन्दी रहेकोमा ५१ जना मात्र स्थायी कर्मचारी छन् भने बाँकी १५० जना अन्य युनिटबाट खटाइएका छन्।