काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज र भोलि देशका धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षाको मात्रा बढेको हो।
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी, कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
आज राती पनि देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्नेछ। यी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।