काठमाडौँ । नेपाली तारे होटलहरूमा परम्परागत बिहानी नास्ताको रूपमा बारा, अमलेट, र जेरीजस्ता परिकारहरू लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो। तर, पछिल्लो समय बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले कोदोका परिकारहरूलाई विशेष महत्त्व दिँदै लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ।
गत शनिबार रिसोर्टमा प्रस्तुत गरिएका दर्जनौं परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो। ग्राहककै अगाडि तयार गरिएको सेलरोटीको सुगन्धले नेपाली मात्रै होइन, विदेशी पाहुनाहरूलाई पनि आकर्षित गर्यो। उनीहरूले नौलो परिकारको रूपमा चाख मानेर खाए र यसको बारेमा सोधपुछ पनि गरे। कतिपय नेपाली पाहुनाले त सेलरोटी प्याक गरेर घर लैजाने इच्छा पनि देखाएका थिए।
रिसोर्टको लाइभ-किचनमा कोदोको सेलरोटीका अलावा कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डुजस्ता परिकारहरू पनि प्रस्तुत गरिएको थियो। यो पहल भोजनलिपि स्वाद नामक नेपाली खाना प्रवर्द्धन अभियानअन्तर्गत गरिएको हो, जसको नेतृत्व सेफ घनश्याम कँडेलले गरेका हुन्।
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले रैथाने खानाको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताएका छन्। उनले नेपाली खानाको माग धेरै रहेकोले ठूला तारे होटलहरूमा नेपाली परिकारको मेनु आवश्यक भएकोमा जोड दिए। हानको ६०औँ वर्षगाँठको अवसरमा ६० प्रकारका रैथाने खानाको परिकारसहितको पुस्तक प्रकाशन गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।
यस अभियानका संयोजक देवीप्रसाद सापकोटाका अनुसार, नेपाली खानाबारे स्वदेशी तथा विदेशी दुवैलाई जानकारी गराउने उद्देश्यले यो अभियान अगाडि बढाइएको हो। सेफ कँडेलले पनि पाँचतारे होटलमा छुट्टै नेपाली किचन अनिवार्य हुनुपर्नेमा जोड दिएका छन्।
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिलो भएकोले मेनुमा समावेश गर्नुपर्ने बताए। उनले कलात्मक ढंगले प्रस्तुत गर्न सके विदेशी पर्यटकले पनि यसलाई मन पराउने विश्वास व्यक्त गरे।