arrow

चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
bird-flue-1.jpg

चितवन। चितवनमा पालिएका कुखुराहरूमा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनले यो रोग पुष्टि गरेको हो।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार, चितवनसहितका जिल्लाका कुखुरामा यो समस्या देखिएको छ। एलाइजा प्रविधिबाट गरिएको ९२ वटा नमुना परीक्षणमा ३३ प्रतिशत अर्थात् ३१ वटा नमुनामा यो रोगको संक्रमण फेला परेको हो।

यो भाइरसले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। यसले गर्दा कुखुरामा अन्य रोगहरूको संक्रमण बढ्छ। डा. श्रेष्ठका अनुसार, यस रोगले कुखुरामा प्रत्यक्ष असर नदेखिए पनि उत्पादन घटाउने भएकाले आर्थिक रूपमा ठूलो क्षति पुर्‍याउँछ।

यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने र उत्पादनमा कमी आउने जस्ता लक्षणहरू देखा पर्छन्। डा. श्रेष्ठले कुखुराले खाना खाए पनि र हिँडडुल गरे पनि यसको असर दीर्घकालीन हुने भएकाले बेवास्ता नगर्न आग्रह गरेका छन्।

यो रोगबाट कुखुरालाई बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन लगाउनुपर्छ। ब्रोइलर र लेयर्सको माउ तथा चल्ला दुवैलाई यो खोप दिनुपर्ने उनको भनाइ छ।

गत आर्थिक वर्षमा प्रयोगशालाले १६ जिल्लाबाट संकलित २ हजार ५ सय किसानका ७ हजार कुखुराको परीक्षण गरेको थियो। जसमध्ये ‘लो प्याथोेनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी (इन्फुलुन्जा व्रोङ्गकाइटिस) दुई वटामा देखिएको थियो।

यसैगरी, १ हजार १२० वटा कुखुराको कलेजो परीक्षण गर्दा इकोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा देखिएको थियो। यी संक्रमणहरू जैविक सुरक्षाको अभावमा फैलिएको हुनाले फार्ममा दाना, पानी, औषधि र भुसलगायतका सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा पूर्ण जैविक सुरक्षा अवलम्बन गर्न डा. श्रेष्ठले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ