सुदूरपश्चिममा भारी वर्षा, मनसुनको सक्रियता पश्चिम केन्द्रित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
733
Shares
काठमाडौँ । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिममा तराई र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुनको सक्रियता पश्चिमी भूभागमा बढी देखिएको हो।
पछिल्लो २४ घण्टाको मापन अनुसार, बैतडीमा ११६ मि.मि., डोटीमा ९२.४ मि.मि., कैलालीमा ९०.६ मि.मि. र अछाममा ९८ मि.मि. वर्षा रेकर्ड भएको छ। यसबाहेक, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, र पर्वतमा पनि भारी वर्षा भएको छ।
पछिल्लो १२ घण्टामा डोटीमा ८८.६ मि.मि., कैलालीमा ७४.६ मि.मि. र बैतडीमा ६९.४ मि.मि. वर्षा भएको छ। अहिले पनि कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम, र कास्कीका केही क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।
विभागका अनुसार, आज रातिदेखि वर्षाका गतिविधिहरू बिस्तारै कम हुनेछन्। यद्यपि, बदली भने कायमै रहने र छिटफुट ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् ढकालले बताएका छन्।