सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनमा न्यायिक समिति आवश्यकः सांसद महासेठ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
1.8k
Shares
काठमाडौँ। नेकपा एमालेका सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्।
२०८१ साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनामा परेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा एक छानबिन आयोग गठन गरेको थियो।
सांसद महासेठले हालको छानबिन प्रतिवेदन निष्पक्ष नभएको र सम्बन्धित विमान कम्पनीलाई बचाउन खोजिएकोले यसलाई स्वीकार गर्न नसकिने बताए। उनले नेपालमा धेरै हवाई दुर्घटना भए पनि अहिलेसम्म फौजदारी मुद्दामा प्रवेश नगरेको भन्दै यो दुर्घटनाबाटै सरकारलाई फौजदारी मुद्दा अघि बढाउन निर्देशन दिनुपर्ने माग गरे।
“न्यायिक छानबिनको जरुरी व्यक्तिगत रूपमा मैले पनि देखेको छु,” उनले भने, “जुन छानबिनको प्रतिवेदन प्रस्तुत भएको छ...त्यो वास्तवमा एउटा विवादित र सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर त्यसमा निकै कोसिस गरिएको छ।”
महासेठले समितिबाटै कारबाहीको माग गर्नुपर्ने बताउँदै यस्तो कदमले भविष्यमा विमान कम्पनीहरूलाई थप जिम्मेवार बनाउने र लापरबाही गरेमा फौजदारी अभियोग लाग्न सक्छ भन्ने सचेत गराउने विश्वास व्यक्त गरे।