सगरमाथा सफाइ : नेपाल लाइफद्वारा ‘प्रोजेक्ट केयर’ अभियानमार्फत पाँच हजार किलोग्राम फोहोर सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
502
Shares
काठमाडौँ। नेपाल लाइफ बिमा कम्पनी लिमिटेडले राउण्ड टेबल नेपालसँगको सहकार्यमा ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत सगरमाथामा थुप्रिएको पाँच हजार किलोग्राम फोहोर सङ्कलन गरेको छ।
नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादीमा आयोजित विशेष कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर सङ्कलनसम्बन्धी प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउण्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, पदाधिकारीहरू, प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरू, साथै फोहोर व्यवस्थापन, पुनः प्रयोग (रिसाइकलिङ) र वातावरणीय संरक्षणमा सक्रिय संस्था खालिसीसीका प्रतिनिधिहरूको उपस्थिति थियो।
नेपाल लाइफको प्रतिबद्धता
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियान सञ्चालन गरिएको उल्लेख गर्दै, पहिलो चरणमै ५,००० किलो फोहोर सङ्कलन गर्न सफल भएकोमा सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण अत्यावश्यक रहेको बताउँदै आगामी दिनमा पनि वातावरण र धरोहर जोगाउन नेपाल लाइफ सक्रिय रहने प्रतिबद्धता जनाए।
राउण्ड टेबल नेपालको योजना
राउण्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले यस पटक ५,००० किलो फोहोर सङ्कलन भएको र आगामी चरणमा २५,००० किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको संस्थाले यो अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने बताए।
उनका अनुसार आरोहीहरूको बढ्दो सङ्ख्यासँगै फोहोरको मात्रा तीव्र गतिमा बढिरहेको छ। नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतका प्रयास पर्याप्त नभएको अवस्थामा यस अभियानले ठुलो सकारात्मक परिवर्तन ल्याएको उनले विश्वास व्यक्त गरे।
यस क्रममा कुहिने फोहोरलाई आधार शिविर भन्दा तल पुर्याइएको छ भने नकुहिने फोहोरलाई ३०–३० किलोका झोलामा हालेर काठमाडौँ ल्याइएको छ। ल्याइएका फोहोरलाई खालिसीसीसँगको सहकार्यमा पुनः प्रयोग गरिने योजना रहेको छ।
सगरमाथामा बढ्दो चुनौती
संसारकै अग्लो हिमाल सगरमाथा हरेक वर्ष हजारौँ आरोहीलाई आकर्षित गर्दै आएको भए पनि मानव गतिविधिको वृद्धिसँगै फोहोर थुप्रिँदै गएको छ। त्यागिएका पाल, अक्सिजन सिलिन्डर, खाद्य प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरूका कारण सगरमाथा “विश्वकै अग्लो फोहोर थलो” बन्ने जोखिममा परेको छ।
यिनै समस्याहरू न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफ बिमा कम्पनीले राउण्ड टेबल नेपालसँग सहकार्य गरी ‘हेरचाह परियोजना’ सफाइ अभियानमा हातेमालो गरेको हो।