arrow

अढाई दशकमा पहिलोपटक घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
nepal-life-insurance.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूँजी र व्यवसायको आधारमा सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यापार घट्न थालेको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो कम्पनीको पहिलो वर्षको बीमाशुल्क घटेको हो । 

विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको ९ महिनामा पहिलोपटक गरिएको बीमा शुल्कबापत ३ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेकोमा यस वर्ष यो घटेर ३ अर्ब ६० करोडमा झरेको छ । यो गिरावटले कम्पनीप्रति नयाँ बीमितको आकर्षण घटेको देखाउँछ । कम्पनीको २३ वर्षको व्यवसायिक इतिहासमै व्यापार घट्न सुरु गरेको यो पहिलोपटक हो । 

यसअघि सो कम्पनीले बढ्दो सरेन्डर दरलाई व्यवसायको मुख्य चुनौती मान्दै आएको थियो । बीमा गरेर नियमित रुपमा बीमा शुल्क बुझाइरहेका बीमितले प्रिमियम बुझाउन नसक्ने भनेर बीमालेख रद्द गर्ने कार्यलाई सरेन्डर भनिन्छ । 

सरेन्डरले बीमा कम्पनीको व्यवसायमा असर पर्ने भए पनि यो कम्पनीको पफर्मेन्सको सूचक थिएन । अहिले घटेको पहिलो बीमाशुल्कले भने पफर्मेन्स प्रश्न उठेको छ । 

पहिलो वर्षको बीमाशुल्क घटेको नेपाल लाइफको नवीकरणीय बीमाशुल्क भने २३ अर्ब १० करोडबाट बढेर २४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यो करिब ६ प्रतिशतको वृद्धि हो । 

एकपटक मात्रै बीमाशुल्क तिर्ने म्यादी प्रकारको जीवन बीमाबाट प्राप्त शुल्क चाहिँ यो वर्ष दोब्बर भन्दा बढी पुगेको छ । यो प्रकारको शुल्कबाट कम्पनीले अघिल्लो वर्ष ५४ करोड उठाएकोमा यो वर्ष १ अर्ब २४ करोड पुर्याएको हो । यसले गर्दा कम्पनीको कुल बीमितको संख्या झण्डै ३ लाखले बढेको देखिएको छ । 

उक्त कम्पनीले अहिले प्रतिहजार ५० देखि ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । केही वर्ष अघिसम्म न्यूनतम बोनस नै ६५ प्रतिहजार थियो । पछि घटेर ५६ रुपैयाँमा झरेको बोनस दर अहिले ५० रुपैयाँमा घटेको हो ।

बोनस दरले बीमितले पाउने प्रतिफल निर्धारण गर्छ । उदाहरणका लागि कुनै व्यक्तिले १० लाख रुपैयाँको बीमा गरेको छ भने ५० प्रतिहजारको दरले उसले पाउने बोनस ५० हजार रुपैयाँ हुन आउँछ । यसअघि यस्तो प्रतिफल ६५ हजार रुपैयाँसम्म थियो । 

चालु वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९.८ रुपैयाँ रहेको छ । यद्यपि बीमांकीय मूल्यांकनपछि यस्तो दरका परिवर्तन हुने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ