arrow

माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
puspakamal-dahal-prachanda-05-11.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’

उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।

‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्’, उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’

प्रचण्डले देशभरका पालिकामा भएका संघर्ष, बलिदान र ऐतिहासिक घटनालाई दस्तावेजीकृत गर्न आग्रह गरे ।

‘सिरानचोकजस्तै हरेक वडाका आफ्नै बेथा छन्, आफ्ना मर्म छन्,’ उनले भने, ‘यी मर्म र गाथालाई केन्द्रित गरेर संकलन गरियो भने ठूलो ऐतिहासिक सामग्री बन्न सक्छ ।’

उनले पार्टी, विचारधारा वा संगठनभन्दा माथि उठेर देशको परिवर्तनका प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ