बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्तामा चीनका लागि उत्तर कोरियाको स्थायी महत्त्वबारे आश्वस्त पारेका छन्। दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वर्षगाँठको अवसरमा आयोजित विशाल सैन्य परेडमा सहभागी हुन किम बेइजिङ आएका हुन्।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको वार्तामा राष्ट्रपति सीले चीनले उत्तर कोरियासँगको 'परम्परागत मित्रतालाई निकै महत्व दिएको' बताए। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि यो सम्बन्धमा परिवर्तन नआउने बताए।
सन् १९५० को दशकको कोरियाली युद्धदेखि नै चीन उत्तर कोरियाका लागि कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगको महत्त्वपूर्ण स्रोत रहँदै आएको छ। सीले किमलाई दुई देशबीच उच्चस्तरीय आदानप्रदान, रणनीतिक संवाद, र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग बढाउन चीन इच्छुक रहेको पनि बताए।
किम जोङ उन आफ्नी छोरी किम जु एई सँगै मंगलबार बेइजिङ आइपुगेका थिए। परेडमा उनी राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एकै लहरमा देखिएका थिए। यसले उनको अन्तर्राष्ट्रिय कूटनीतिमा भएको बदलावलाई संकेत गर्दछ।
पछिल्लो समय प्योङयाङ रुससँग नजिकिएको छ। दुई देशले गत वर्ष रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए र उत्तर कोरियाली सेना युक्रेन युद्धमा लडिरहेका छन्।
सन् २०१८ र २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको भेटवार्तापछि विश्व परिदृश्यबाट पछि हटेका किम, अहिले फेरि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न खोजेको देखिन्छ। यद्यपि, सन् २०१९ को असफल शिखर सम्मेलनपछि प्योङयाङले आफूलाई 'अपरिवर्तनीय' आणविक राष्ट्र घोषणा गर्दै आएको छ। दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार किमको बख्तरबन्द रेल बैठक सकिएलगत्तै बेइजिङबाट छुटेको थियो।