arrow

प्रचण्ड भन्छन् - अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले राम्रा कामको प्रचार गरेनौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
prachanda-lamjung.jpg

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् । 

लमजुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले धेरै काम गरेका छौँ तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसँग सम्बन्ध मजबुत बनाउन जनतामाँझ आएका हौँ ।’

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साटे । 

उनले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने, ‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लमजुङ आइपुग्दा तराई-मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।’

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे । 

उनले दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई-मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताए । तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उनले उल्लेख गरे ।

उनले भने, ‘हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ