काठमाडौँ। जेन-जी पुस्ताको प्रदर्शनका कारण केही दिन अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सेवा बिहीबारदेखि नियमित भएको छ। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखि नै उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
महाप्रबन्धक पाण्डेले भने, “विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ। यात्रुको आवागमनलाई सहज बनाउन सुरक्षा निकायहरूसँग समन्वय गरिएको छ।”
हाललाई विमानस्थलले पुरानै तालिका अनुसार उडानहरू सञ्चालन गर्ने जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले यात्रुहरूलाई परिचय खुल्ने कागजात र टिकटका आधारमा आवतजावत गर्न सहजीकरण गरिएको छ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, आज बिहानदेखि नै उडानहरू नियमित भएका छन् र दुई-तीन दिनदेखि रोकिएका यात्रुहरूलाई गन्तव्यमा पुर्याइँदैछ। नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकका लागि सटल बसको व्यवस्था गरेको छ भने वायुसेवा कम्पनीहरूले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्थापन गरी गन्तव्यमा पुर्याइरहेका छन्।
विमानस्थल प्रशासनले हवाई यात्राका लागि विमानस्थल आउने यात्रुहरूलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र टिकट तथा परिचय खुल्ने कागजात साथमा लिएर आउन अनुरोध गरेको छ।