महोत्तरीमा निषेधाज्ञा फिर्ता : जनजीवन सामान्य, कारागारबाट भागेका कैदीबन्दी अझै फरार
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
814
Shares
जलेश्वर (महोत्तरी)। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा फिर्ता गरेसँगै महोत्तरी जिल्लाको जनजीवन आजदेखि सामान्य बनेको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा हटाइएपछि जनजीवन सामान्य भएको जानकारी दिएका हुन्।
निषेधाज्ञा हटेसँगै हाटबजार, पसल, कलकारखाना, यातायात र शैक्षिक संस्थाहरू सञ्चालनमा आएका छन्। सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू पनि खुलेका छन्।
जेन-जी आन्दोलनको क्रममा जलेश्वर कारागारबाट भागेका कैदीबन्दीहरू अझै फर्किएका छैनन्। गत मङ्गलबार राति ५७६ जना कैदी फरार भएकामा अहिलेसम्म एक सय जना मात्रै फर्किएका छन्। कारागारका जेलर अशोक क्षेत्रीका अनुसार, चार भारतीयसहित अझै ४७६ जना कैदीबन्दी फरार रहेका छन्।
कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि उनीहरू आउने क्रम जारी रहेको बताइएको छ। फरार भएकाहरूको खोजी कार्यमा सुरक्षाकर्मीहरू खटिएका छन्।