सरकार निजी क्षेत्रको क्षतिपूर्ति र पुनर्स्थापनामा सहयोग गर्न तयार छ: प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
611
Shares
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छिन्।
आइतबार पदभार ग्रहणपछि सचिवहरूसँगको छलफलमा उनले निजी क्षेत्रमा भएको क्षतिको मूल्यांकन गरी सफ्ट लोन लगायत अन्य सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताइन्। उनले क्षति हुँदाहुँदै पनि अघि बढ्ने प्रण गरेकोमा निजी क्षेत्रको प्रशंसा गरिन्।
“व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत सबै जलाइयो। उद्यमी, व्यापारी र साना व्यवसायीको सम्पत्तिमा पनि क्षति पुग्यो,” उनले भनिन्। “कतिपय व्यवसायी त अब उठ्नै नसक्ने अवस्थामा पुगेका छन्। त्यसैले राज्यले यसमाथि विचार गर्छ।”
उनले कसरी सहयोग गर्ने भन्नेबारे सरकारले विचार गरिरहेको बताइन्। उनले भनिन्, “बैंकको सफ्ट लोन दिने कि वा अन्य कुनै सहयोग गर्ने, हामी सोच्छौँ।” साना व्यापारीहरू पनि लुटिएको र उनीहरूलाई पनि राज्यले सहयोग गर्ने उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले क्षति हुँदाहुँदै पनि आन्तरिक बल देखाएकोमा निजी क्षेत्रलाई धन्यवाद दिइन्।
उनले भदौ २४ गतेको घटनामा आतंक फैलाउने काम भएको र त्यसको छानबिन हुने पनि जानकारी गराएकी छिन्।