काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले माओवादी जनयुद्धकालमा पनि क्षति नभएको होटल र पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको छ। नेपाल होटल संघ (हान) का अनुसार, आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले यस क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
हानका अध्यक्ष विनायक साहले १० वर्ष लामो माओवादी जनयुद्धका बेला पनि पर्यटक वा होटलहरूलाई जानीजानी हानि-नोक्सानी पुर्याइएको थिएन, तर यसपटक पहिलो पटक यस्तो भएको बताएका छन्। उनले जेन-जीको सुशासन र भ्रष्टाचारविरुद्धको एजेन्डामा आफूहरू सहमत भए पनि अराजकता, आगजनी र तोडफोड ठिक नभएको बताए।
अध्यक्ष साहका अनुसार, आन्दोलनमा हिल्टन होटलसहित करिब २५ वटा होटल र पर्यटकीय संरचना, जस्तै केबलकार, माथि क्षति पुगेको छ। हिल्टन होटलमा मात्रै करिब ८ अर्ब रुपैयाँको नोक्सानी भएको आकलन गरिएको छ।
करोडौंको लगानीमा बनेका यी संरचनाहरूमा भएको क्षतिले समग्र पर्यटन क्षेत्रमा नै धक्का लागेको र यसले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश नगएको साहको बुझाइ छ। उनले हिल्टनजस्ता धेरै होटलमा पर्यटकहरूले बुकिङ गरेका थिए र संरचना ध्वस्त भएको जानकारीले उनीहरूमा नकारात्मक सन्देश गएको बताए।
यस्तो अराजकता मच्चाउने र तोडफोड, आगजनीमा संलग्न व्यक्तिहरूमाथि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी कारबाही हुनुपर्नेमा साहले जोड दिए। यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिने उनको आशा छ।