arrow

दशैँ नजिकिएसँगै लेकबाट बेसी झर्न थाले भेडीगोठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
bhedigoth-baglung.jpg

ढोरपाटन (बागलुङ)। दशैँ नजिकिएसँगै बागलुङका लेकहरूबाट भेडीगोठहरू बेसी झर्न थालेका छन्। करिब चार महिनासम्म उच्च हिमाली भेगमा बिताएका गोठालाहरू घटस्थापना सुरु भएपछि आफ्ना भेडा-बाख्रासहित फर्कन थालेका हुन्।

बागलुङको निसीखोला, ढोरपाटन र तमानखोला लगायतका क्षेत्रका गोठालाहरू गर्मी याममा भेडा-बाख्राका लागि पोसिलो घाँसको खोजीमा तीन हजारदेखि चार हजार ५०० मिटर उचाइका पाटनहरूमा पुग्छन्। ढोरपाटन सिकार आरक्ष, रिग, खोलाखानी र सोलेडाँडा जस्ता क्षेत्रमा उनीहरूको यात्रा हुन्छ।

दशैँको सिजनमा लेकबाट फर्किएर उनीहरू भेडा-बाख्रा बेच्न बजारतिर लाग्छन्। निसीखोला गाउँपालिका-६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनपछि लेकबाट फर्किएको बताएका छन्। दशैँका लागि भेडा र च्याङ्ग्रा बेचेर खर्च जुटाउने यो परम्परा गोठालाका लागि मुख्य आम्दानीको स्रोत हो।

कुमानसिंहले आफ्नो पुस्ताले यो पेसालाई निरन्तरता दिए पनि नयाँ पुस्ताले भने गोठाला बन्न नचाहेको बताएका छन्। "हाम्रा छोरा-नातिले भेडा गोठाला बन्न चाहेनन्, उनीहरूले पढ्ने-लेख्ने भए, विदेश जाने भए," उनले भने। यो पेसालाई बाध्यताका रूपमा स्वीकार गर्दै उनीहरूले हरेक वर्ष गर्मी याममा लेक उक्लिने र जाडो सुरु भएपछि बेसी झर्ने गरेका छन्।

बेसी झरेका गोठालाहरूले अब केही दिनमै भेडा बेच्नका लागि बुटवल, पोखरा, र पाल्पालगायतका मुख्य सहरहरूमा जाने तयारी गरिरहेका छन्। उनीहरूले पोसिलो घाँस खाएर सप्रिएका भेडा बेचेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ