आज टुँडिखेलमा फूलपाती बढाइँ , राष्ट्रपतिले अवलोकन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
913
Shares
काठमाडौँ। बडादशैंको सप्तमी अर्थात् फूलपातीका दिन नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज (आइतबार) दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ।
संवैधानिक व्यवस्थाअनुसार नेपाली सेनाको परमाधिपति रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यो समारोह सम्पन्न हुनेछ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट महानुभावहरूको सहभागिता रहनेछ।
फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। समारोहमा नेपाली सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ।
यसका साथै, सैनिक परेड प्रदर्शन, दुर्गा नाच प्रस्तुत गरिनेछ। सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिनुका साथै पुष्पवृष्टि गरिनेछ।
गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ। नेपाली सेनाले हरेक वर्ष बडादशैंको सप्तमी अर्थात् फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच बढाइँ गर्दै आएको छ।