चार दिनसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न प्राधिकरणको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1k
Shares
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म (चार दिन) अत्यावश्यक अवस्थाबाहेक लामो यात्रा नगर्न अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेपछि प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो आग्रह गरेको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले यो जानकारी दिएका छन्।
प्राधिकरणले गरेको अनुमानअनुसार, उल्लेखित पाँच प्रदेशभित्रका बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन भनिएको छ।
विशेषगरी, बाग्मती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ र मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बग्ने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। साथै, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिन तथा आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ।
यसैगरी, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति ले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णयको पालना गर्न गराउन प्राधिकरणले निर्देशन दिएको छ। तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय लाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र जोखिमयुक्त राजमार्ग तथा सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि प्राधिकरणले ध्यानाकर्षण गराएको छ।