मंसिरभित्रै कांग्रेसको नियमित महाधिवेशन गर्न जनसम्पर्क समिति अमेरिकाको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
3.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकाले पार्टीको नियमित महाधिवेशन मंसिरभित्रै गर्न आग्रह गरेको छ । समितिका महासचिव मुनिन्द्र नेम्बाङले प्रेस विज्ञप्ति जारी गर्दै मंसिरमै नियमित महाधिवेशन गर्न आग्रह गरेका हुन् ।
कांग्रेसले गत २०७८ साल मंसिरमै चौधौँ महाधिवेशन गरेको थियो । पार्टीको विधानअनुसार मंसिरमै १५ औँ महाधिवेशन गर्नुपर्ने हो । तर सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको सहमतिअनुसार आगामी असारपछि उनले प्रधानमन्त्री लिने सहमति गरेअनुसार महाधिवेशन पनि एक वर्ष पछाडि धकेल्न चाहेका थिए ।
सो अनुसार पार्टीको काममा सुस्तता छाउँदा र पार्टीले ठोस काम नगर्दा देउवाको प्रधानमन्त्री आशा नै चिप्लियो । भ्रष्टाचारी सरकार र सामाजिक सञ्जालसमेतमा रोक लगाउने वाक स्वतन्त्रता हननकारी सरकारलाई जेन-जी आन्दोलनले हुत्याएपछि समीकरण बिग्रिएको छ ।
यससँगै पार्टीलाई भ्रष्टाचारविहीन बनाउने र जेन-जीकरण गर्ने उद्धेश्यअनुरुप नै समयमै महाधिवेशन गर्न माग बढेको छ । नेतृत्वमा पुस्तान्तरण गर्ने उद्धेश्यअनुरुप महाधिवेशन हुन नसके विशेष महाधिवेशन भए पनि गर्नुपर्ने जनसम्पर्क समिति अमेरिकाको आग्रह छ ।
यस्तो छ विज्ञप्ति- प्रेस विज्ञप्ति
आदरणीय साथिहरू
जय नेपाल ।
२०८२ साल भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले मुलुकमा आमुल परिवर्तन ल्याउॅदै, नेपालको राष्ट्रिय राजनीतिलाई नयॅा कोर्षमा प्रवेश गराएको छ । जसका कारण सिंगो मुलुक अहिले एउटा विशिष्ट, तरल र चुनौतिपूर्ण मोडमा आईपुगेको छ । यो बिषम परिस्थितिमा देश कसरी अधि बड्छ भन्ने चासो र चिन्ता आम जनमानसमा सर्वत्र पैदा भएको छ ।त्यसैले यो वेलामा मुलुकलाई सधैं निकास दिदैं आएको पार्टी कांग्रेसले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्दछ ।
आफ्नो राजनीतिक मार्ग द्रष्टा नै नेपाली जनतालाई ठान्ने कांग्रेसले यतिवेला जेन-जीको मर्म र भावना लाई आत्मसाथ गर्दै, आन्दोलनले दिएको नविन संदेशलाई सम्मान पुर्वक ग्रहण गर्नुपर्छ । यो आन्दोलनले राज्यका हरेक निकायको कार्यशैली र व्यवहारमा आमुल परिवर्तन खोजेको छ । सुशासन र भ्रष्ट्चारको अन्त्य नै जेन-जीको अन्तिम राजनीतिक गन्तव्य बनेको अवस्थामा यी मुद्दालाई कांग्रेसले अभियानको रूपमै समर्थन गर्नु पर्दछ । आफ्नै जोडबलमा भ्रष्ट्रचारी प्रमाणीत भएका जोकोहीलाई कारवाही गर्नका लागि कांग्रेसले योवेला पहल गर्नुपर्छ।अहिले इतिहॅासको कठीन मोडमा उभिएको समयमा कांग्रेसका यस्ता निर्णयले संगठनमा नैतिक बलको जग खडा गर्नेछ ।
त्यसकारण जेन-जीको परिवर्तनको भावलाई बुझि आफू सच्चिन्दै देश र जनताको भरोसा जितेर मुलुकै नेतृत्व गर्ने ठाउमा लोकतन्त्रको धरोहर पार्टी कांग्रेस पुनःस्थापित हुनुपर्छ। त्यसका निमित्त पार्टीको मौजुदा नेतृत्वबाट बिल्कुलै सम्भव छैन। त्यसकारण कांग्रेस पार्टीभित्र नीति , नेतृत्व र संगठनमा व्यापक रुपान्तरणको आवश्यक भएको छ। अहिले चुनावको मिति घोषणा भैसकेको यो विषम परिस्थितिमा, पार्टीलाई बन्धक बनाउनु हुदैन। त्यसका लागि कांग्रेसले छिटो बिशेष महाधिवेशन गरेर, नीति र नेतृत्वमा आमुल परिवर्तन ल्याउदै, एकताबद्ध भएको पार्टी लिएर संविधान, व्यवस्था र देश जोगाउनका लागि कांग्रेसले आम चुनावमा सहभागि हुनुपर्छ । अन्यथा देशमा भु-राजनीतिक शक्तिहरूले चलखेल बढाउने छन् र मुलुक बहुपक्षिय द्वन्दमा फस्ने खतरा उत्तिकै छ ।
निर्वाचनपछि बदलिएको पार्टी र नेतृत्वले नेपाली कांग्रेसलाई नयाँ पुस्ताले विश्वास गर्ने, आम जनताले आशा गर्ने र देशले भरोसा गर्ने संस्थामा रूपान्तरण गरेर, संविधान र लोकतान्त्रको रक्षा गर्दै, राष्ट्रिय एकता कायम गर्न सक्ने भरपर्दो पार्टीमा कांग्रेसलाई स्थापित गरेर, सबैलाई जोड्दै, देशको नेतृत्व गर्न सिंगो कांग्रेस मुलुकको निर्माणमा जुट्नु पर्दछ ।
जेन-जीको माग जनताका हुन त्यस प्रति हाम्रो समर्थन छ । यो आन्दोलनमा मसिना बालबालिका सहित ७५ जना योद्धाहरुले ज्यान गुमाएका प्रति गहिरो शोक प्रकट गर्दै, परिवारजनमा हार्दिक समवेदना छ र घाईटेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना पनि छ । तर जेन-जीको आवरणमा भएको हाम्रा राष्ट्रिय सम्पदा माथीको आगजनी, विध्वंसात्मक गतिविधी, लुटपाट , अमानविय र अलोकतान्त्रीक कृयकलाप प्रति घोर भर्सना छ। यसै वेला भएको कांग्रेस सभापति माथीको सांघातिक हमला निन्दनीय छ । उहॅाको स्वास्थ्यका प्रति राख्नुपर्न संवेदनशीलता र साहानुभुतिमा हाम्रो गम्भीर ध्यान आकृष्ट भएकै छ । आन्दोलनको उत्कर्षमा दुबै तर्फबाट भएका यस्ता अवाञ्छित र कानुन विपरित कार्य गर्ने जोकोहिलाई कानुनबमोजिम कारवहीहोस भन्ने हाम्रो माग छ।
अहिले नेपाली जनताको आकांक्षा अघि अघि र राजनीतिक पार्टीहरू पछि-पछि दौडेको जस्तो प्रष्ट देखिन्छ । सरकारमा रहँदा कांग्रेसले जनताको भावना अनुरूप काम गर्न नसक्नु यसका उदाहरण हुन् । यसलाई स्वीकारेर, रूपान्तरण हुँदै नयॅा पुस्ता कति अगाडि छन् भन्ने कुराको मापन कांग्रेसले अब गर्नुपर्छ ।
त्यसैले यही २०८२ साल असोज २६ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकबाट आम कांग्रेसजनलाई जागृत गराएर जेन-जीलाई पनि समट्दै संगठनमा पुनर्ताजगी ल्याउनका लागि मंसिर महिना भित्र नियमित महाधिवेशन गर्ने, नभए विशेष महाधिवेशनमा जाने केन्द्रीय बैठकबाट एकैमतले निर्णय गर्न पार्टीको केन्द्रीय कार्यसमितिलाई यसै बिज्ञप्ति मार्फत हार्दिक विनम्र अनुरोध गर्दछु । आम कांग्रेसजन शुभचिन्तक र सारा नेपाली जनताको चाहना पनि यस्तै देखिएकोले पार्टीलाई रूपान्तरण गरेर एकताबद्ध गर्ने कांग्रेसको यो नै अन्तिम विकल्प पनि हो । यसलाई अभियानका रूपमा पहलकदमी गर्न र गराउनका लागि विश्वभरका जनसम्पर्क समितिका सभापति एवम पदाधिकारी र सदस्य ज्यूहरू,महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधी ज्युहरू लगायत जनसम्पर्क समितिमा आवद्ध आम साथिहरू र देशैंभरका नेतागण एवम सबै कांग्रेसजनमा अनुरोधका साथ हार्दिक आह्वान गर्दछु । जय नेपाल
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका