arrow

मंसिरभित्रै नियमित महाधिवेशन गर्न आग्रहसहित हस्ताक्षर पेश गर्ने चितवन कांग्रेसको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

चितवन । आगामी मंसिरभित्रै पार्टीको महाधिवेशन गर्नका लागि हस्ताक्षर पेश गर्ने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव ध्रुवराज पोखरेलका अनुसार जेन-जी आन्दोलन पश्चात बदलिएको विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा कांग्रेसलाई बदलेर नयाँ कांग्रेस बनाउनका लागि समसामयिक परिस्थिति, नीति र नेतृत्व लगायतका विषयमा विशेष निर्णय गर्न अपरिहार्य भएकोले विधानतः चार वर्षे कार्यकाल पूरा गर्न लागेको केन्द्रीय समिति र पार्टीका सवै संरचनाहरुको कार्यकाल थप नगरी मंसिर मसान्त भित्र नियमित महाधिवेशन आह्वान गर्न आग्रह गर्ने निर्णय भएको हो । 

गत भदौ २३ र २४ गते जेन-जी युवाहरूको आह्वानमा भएको विद्रोहपछि नेपाली राजनीति अन्योलग्रस्त अवस्थाबाट गुज्रिरहेकाले पार्टीलाई बदलिदो परिवेश अनुसार रुपान्तरण नगरी अगाडि बढ्न सक्ने परिस्थिति नभएको भन्दै जिल्ला कार्यसमिति चितवनको संयोजनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूको बिहीबार विशेष भेला भएको हो ।

सो भेलाले मंसिर महाधिवेशन गर्न आग्रह गर्ने र नियमित महाधिवेशन सम्भव नभए कांग्रेसको विधान २०१७ (संसोधनसहित) को धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्नका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर अभियान सञ्चालन गरी केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको छ ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य उमा रेग्मी, टेकप्रसाद गुरुङ, जिल्ला सभापति राजेश्वर खनाललगायत ६० जना भन्दा बढी महाधिवेश प्रतिनिधिहरु सहभागी भएको सचिव पोखरेलले जनाएका छन् । 

उनका अनुसार हालसम्म ६६ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन । केही महाधिवेशन प्रतिनिधिहरू विदेश भएकाले र केही प्राविधिक समस्याले गर्दा उपस्थित हुन नसके तापनि अभियानमा समर्थन रहेको जानकारी दिएको व्यहोरा उनले बताए ।

मंसिर मसान्तभित्र पार्टीको महाधिवेशन सम्पन्न गरी नविनतम नीति र नेतृत्व सहित युवा पुस्ताहरूको भावनालाई समेटी आगामी प्रतिनिधिसभाको निर्वाचनमा जाने र नेपाली कांग्रेस जनताको पहिलो पार्टी बन्ने विश्वास चितवन कांग्रेसले लिएको छ ।

रुपन्देहीमा ८८ जना महाधिवेशन प्रतिनिधिहरू रहेकामा ५ जना केन्द्रीय सदस्य, २ जनाले पार्टी छोडेका र ३ जनाको निधन भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ