सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुम पश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदीबन्दीमध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा जुम्लाबाट ४१ र रुकुम पश्चिमबाट ८८ जना केदी बन्दी कारागारबाट भागेका थिए । तीमध्ये जुम्लाबाट ३१ जना र रुकुमपश्चिमबाट ६९ जना केदीबन्दी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
फरार कैदीबन्दीको खोजीका लागि जिल्लाभर सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीले बताए ।
‘कारागारबाट फरार भएका कैदीबन्दीलाई आत्मसमर्पण गर्न पटक पटक आग्रह गरे पनि उनीहरुले अटेर गरेका छन्’ उनले भने, ‘फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको छ ।’ फरार रहेका कैदीबन्दीमा अधिकांश विभिन्न आपराधिक मुद्दामा जेल सजाय काटिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार अझैसम्म १९ जना कैदीबन्दी फरार छन् ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज २० गतेसम्म फरार कैदीबन्दीहरुलाई आफैँ कारागारमा आउन समय दिएको थियो । पछिल्लो पटक सम्पर्कमा आउनको लागि दिइएको समयमा पाँच जना मात्र कैदीबन्दी आफैँ सम्पर्कमा आएका हुन् ।
प्रशासनले सम्पर्कमा आउन दिएको असोज १२ गतेदेखि २० गतेसम्मको समयमा पाँच जना मात्र कैदीबन्दी आफैँ सम्पर्कमा आएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।
अझैसम्म १९ जना कैदीबन्दी बाहिर नै रहेको र खोजी कार्य तीब्र नै पारिएको उनले बताए ।
जिल्ला कारागारमा कर्तव्य ज्यान, जबरजस्ती करणी, लागूऔषध, ज्यान मार्ने उद्योग र हातहतियारसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका ८८ जना कैदीबन्दी जेन-जी आन्दोलनको फाइदा उठाउँदै भागेका थिए ।
जिल्ला प्रशासन र प्रहरीले पटक पटक सूचनामार्फत सम्पर्कमा आउन र सम्पर्कमा आए थप कारबाही नहुने भन्दै अपिल गरेका थिए ।
तोकिएको समयमा नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।