arrow

कांग्रेसको अहम् बैठक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, प्रतिक्षा देउवा दम्पतीको 

पार्टीमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेबारे गम्भीर छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
congress-flag3.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्न लागेको हो । 

बैठक दिउँसो १ बजेदेखि बस्ने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि बैठक गत आइतबार बस्ने भनिएको थियो । 

तर पार्टीभित्र जेन–जीका माग सम्बोधन गर्नका लागि नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिनुपर्ने माग बढेसंगै संस्थापन हच्किएको छ । 

अहिले अधिकांश जिल्लाबाट महाधिवेशनका लागि हस्ताक्षर भइरहेको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र त्यसले गरेको परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने जताततै व्याप्त रहेको छ । 

हरेक दलमा नेतृत्व परिवर्तनको दबाब रहेको छ । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ को मंसिरमा भएकाले नियमित महाधिवेशन नै आगामी मंसिरमा गर्न सकिन्छ । 

संस्थापनले त्यसलाई लम्ब्याउन खोजिरहेको छ । यता संस्थापन इतर पक्षले भने नियमित महाधिवेशन गर्न सकिँदैन भने विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्न माग गरेका छन् । 

बैठकमा अहिलेको परिवर्तनबारेमसेत गम्भीर छलफल गरी कांग्रेसले सोही अनुसार आफ्नो राजनीतिक रणनीति तयार गर्नेछ ।

प्रतिक्षा देउवा दम्पतीको 
सभापति शेरबहादुर देउवा अझै सार्वजनिक भएका छैनन् । यसअघि बसेका कांग्रेस बैठकहरूमा उपसभापति पूर्णबहादुर खड्काले सभापतित्व गर्दैै आएका छन् । 

भदौ २४ गते जेन–जीको हिंश्रक आन्दोलनले देउवा निवास बूढानीलकण्ठमा आगो लगाउनुका साथै देउवा दम्पतीलाई दुर्व्यवहार गरी पिटपाट गरेको थियो । 

सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो । त्यसयता देउवा दम्पती (पत्नी आरजू राणा देउवा) सार्वजनिक भएका छैनन् । 

उनीहरू आजको बैठकमा उपस्थित हुने बताइएको छ । भदौ २४ गते निवास जलाइँदा थुप्रै रुपैयाँ पनि जलाइएको थियो । 

उक्त पैसाका बारेमा पनि देउवा दम्पतीले जवाफ दिने नै छन् । यता अन्तरिम सरकारले भने उक्त रकमका बारेमा अनुसन्धान थालिसकेको जनाएको छ । 

त्यसयता देउवाप्रति दुई थरी धारणा बाहिर आएको छ । पहिलो त उनी चाहेका भए माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड जस्तै अघिल्लै दिन सेनाको शरणमा जान सक्थे । 

सेनाले २४ गते नै उद्धार गर्न खोज्दा आफू कतै नजाने भन्दै आफूले गल्ती नगरेकाले जनताले आफूलाई केही नगर्ने बताएको विषय चर्चामा आएको थियो । 

उनले सो बेलामा जनताले मार्छन् भने मर्न तयार रहेकोसमेत उल्लेख गरेको बाहिर सार्वजनिक भएको थियो । उनको यो भनाइपछि देउवाप्रतिको आस्था नेपाली जनतामा बढेको पाइएको थियो । 

यद्यपि यो विषयमा देउवाले अहिलेसम्म बोलेका छैनन् । उनले सम्भवतः यो केन्द्रीय समिति बैठकमा सम्बोधन गर्ने नै छन् । 

त्यस्तै दोस्रो विषय भने उनको घरमा रहेको अथाह रकम हो । त्यो रकम जलेको र जनताले लुटेर लगेका भिडियोहरू सामाजिक सञ्जालमा छ्याप्छयाप्ति भएपछि भने देउवा दम्पतीको शाख स्वात्तै घटेको थियो । 

यो विषयमा पनि देउवा दम्पतीले जानकारी दिने अपेक्षा गरिएको छ । 

देउवा सम्मानित अवतरणको प्रतिक्षामा
देउवाले आफूमाथि दुर्व्यवहार भएपछि सम्मानित तरिकाले पार्टी नेतृत्व छाड्न खोजेको बुझिएको छ । 

यद्यपि अस्पताल बसाइपछि उनी कहिले बाहिर आए भन्ने जानकारी नदिएपछि उनीमाथि शंका उब्जियो । उनी पक्षका नेताहरूले सभापति मर्माहित भएका बेलामा पनि विशेष महाधिवेशन माग्नु मूर्खता हो समेत भन्न भ्याए । 

तर समय बलबान भएकाले कांग्रेसको शाख जोगाउने हो भने नेतृत्व परिवर्तन अहिलेको महत्वपूर्ण विषय भएकोसमेत बताइँदै आइएको छ । 

देउवाले पनि पछिल्लो समय आफूले सहज वातावरण पाए छाड्ने र महाधिवेशनको तयारी गर्ने जनाएको बुझिन्छ । 

आजको बैठकपछि माहोल कता जान्छ सोही अनुसार हुने पनि बुझिएको छ । 

देउवा तेस्रो पटक सभापति हुन खोजेका हैनन् । तर एमालेसँग सत्ता गठबन्धन गर्दा चुनावी सरकारको नेतृत्व आफूले गर्ने आकांक्षामा पार्टीको महाधिवेशन पछाडि धकेल्न खोजेका थिए । 

अब सत्ता नै परिवर्तन भइसकेपछि देउवाको यो बहाना पनि सकिएकाले विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विकल्प देखिँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ