arrow

युरोपेली संसदमा नाबालिगका लागि सामाजिक सञ्जालको उमेर १६ वर्ष पुर्‍याउने प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली सांसदहरूले बिहीबार नाबालिगहरूलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन्।

युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको अनुमतिबिना सामाजिक सञ्जालमा पहुँच गर्न नदिन सिफारिस गरिएको छ। पछिल्लो समय बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षामा अनलाइन प्रविधिहरूको नकारात्मक प्रभावबारे चिन्ता बढेकाले यो पहल गरिएको हो।

पहलको नेतृत्व गर्नुभएका डेनिस ईयू सांसद क्रिस्टेल शाल्डेमोसले अनलाइन सेवाहरू प्रयोग गर्ने नाबालिगहरूका लागि कडा सुरक्षा उपायहरू आवश्यक रहेको भन्दै सामाजिक सञ्जालको पहुँचका लागि 'उच्च नियन्त्रण' चाहिएको बताएकी छन्। सांसदहरूले डिजिटल सेवा ऐन (डीएसए) अन्तर्गत नियमको उल्लङ्घन गर्ने प्लेटफर्महरूमा जरिवाना र प्रतिबन्ध लगाउन पनि आह्वान गरेका छन्।

हानिकारक सामग्रीको पहुँचलाई रोक्नका लागि, सांसदहरूले नाबालिगहरूलाई सघाउनका लागि प्रयोग हुने एल्गोरिदममा प्रतिबन्ध लगाउने, लत लाग्ने खालका सामग्री प्रयोग निषेध गर्ने र बच्चाहरूका लागि पहुँचयोग्य अनलाइन जुवाजस्ता खेलहरूलाई निषेध गर्ने प्रस्ताव गरेका छन्। रिपोर्टमा कुनै पनि अनलाइन प्लेटफर्महरूले नाबालिगलाई नकारात्मक प्रभाव पार्ने सामग्री बनाउने र प्रयोगका लागि प्रोत्साहित गर्ने काम रोक्नुपर्ने उल्लेख छ।

भारी बहुमतले समितिमा पारित गरिएको यो प्रस्तावलाई नोभेम्बर २४ देखि २७ को बीचमा पूर्ण संसदको पूर्ण सत्रमा मतदानका लागि राखिनेछ। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले व्यक्तिगत रूपमा यस्तो कदमलाई समर्थन गर्दै २७ मध्ये २५ ईयू देशहरूले यस अध्ययनलाई समर्थन गरेको जनाएकी छन्। यो प्रस्तावले बढ्दो डिजिटल पहुँचलाई नियमन गर्ने ईयूव्यापी पहललाई टेवा प्रदान गर्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ