मंसिरमै कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
920
Shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौँमा पत्रकार सम्मेलनमा घिमिरेले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने नेतृत्व बदल्नैपर्ने बताए ।
उनले विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा नरहेको बताए । विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिमा निहीत रहेकाले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए ।
उनले अहिले केन्द्रीय कार्य समितिले नै सबै काम राम्ररी गर्छ भन्ने अन्तिम विश्वास बाँकी रहेको पनि बताए ।
उनले भने, ‘केन्द्रीय कार्यसमितिको कार्यकाल तोकिएको छ । तर महाधिवेशन प्रतिनिधिको कार्यकाल कतै तोकिएको आजसम्म देखिएको छैन् । आवश्यकता अनुसार सबै परिवर्तन हुन्छ । अब हाम्रो कार्यक्रम कार्यसमितिको भूमिकामा निर्वाह गर्छ । हामीले यो प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा छैन । केन्द्रीय कार्य समितिले नै सबै काम राम्ररी गर्छ भन्ने अन्तिम विश्वास बाँकी छ ।’
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरी हस्ताक्षर गरेका प्रतिनिधिले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई पाँच बुँदे ध्यानाकर्षणपत्र समेत बुझएका छन् ।
१) पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिमा निहीत रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन ।
२) पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानक स्वरुप नेपाली राजनीतिमा धेरै घटना/दुर्घटना भएको पृष्ठभूमि हाम्रो सामु छ । तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ ।
३) आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नीति र नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको हो । यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुनः स्मरण गराउन चाहन्छाैँ ।
४) विगतका निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशनमार्फत पार्टीभित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ । त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।
५) केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यले आफ्ना धारणा राख्ख आपत्तिजनक छ । केन्द्रीय सदस्यका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ । अतः विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रुपमा ग्रहण गरि कार्यान्वयनतर्फ अघि वढ्न आग्रह गर्दछौँ ।
यता, नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् । महाधिवेशन प्रतिनिधिको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने पनि उनले चेतावनी दिए ।
विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बाएको आरोप पनि लगाए ।
उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए ।
आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसूस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पार्दै उनले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएकोमा जोड दिए।