रुसी प्राकृतिक ग्यासको आयातलाई बन्द ईयू सदस्य राष्ट्रबीच सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
2.4k
Shares
काठमाडौँ। युरोपेली संघका सदस्य राष्ट्रहरूले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन्।
यो निर्णय सन् २०२२ मा शुरू गरिएको ‘रीपावर युरोप’ रणनीतिको महत्वपूर्ण अङ्ग हो, जसको उद्देश्य रुसमा हुने इन्धन निर्भरतालाई समाप्त गर्दै वैकल्पिक तथा स्वदेशी ऊर्जातर्फ संक्रमण गर्नु हो।
यस प्रस्तावअनुसार सन् २०२६ जनवरी १ बाट नयाँ रुसी ग्यास आयातमा पूर्ण प्रतिबन्ध लाग्नेछ। यद्यपि, पहिल्यै भएका सम्झौताहरूलाई केही समयका लागि जारी राख्न अनुमति दिइनेछ। छोटो अवधिका सम्झौता सन् २०२६ जुन १७ सम्म र दीर्घकालीन सम्झौता सन् २०२८ जनवरी १ सम्म मान्य रहनेछन्।
ऊर्जा क्षेत्रको पारदर्शिता बढाउन, ग्यास आयात गर्ने कम्पनीले ग्यासको स्रोत, सम्झौताको अवधिलगायतका विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ।
यद्यपि, हङ्गेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताएका छन्। उनले ऊर्जा जस्तो महत्वपूर्ण विषयलाई राजनीतिक एजेन्डामा परिणत गर्नु उचित नहुने स्पष्ट पारे ।
हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७दशमलव५ अर्ब अमेरिकी डलर) बराबर छ।
उक्त प्रस्ताव कानूनी रूपमा लागू हुनु अघि युरोपेली संसदमा छलफल र स्वीकृति आवश्यक पर्नेछ।
स्वीकृत भएपछिमात्र यो नियम कार्यान्वयनमा आउनेछ र यसले युरोपेली संघको दीर्घकालीन ऊर्जा नीतिमा एक ऐतिहासिक मोड ल्याउनेछ। एजेन्सी