पुटिनद्वारा रुसी आणविक बलको अभ्यासको निर्देशन, ट्रम्पसँगको शिखर सम्मेलन स्थगित
आइसीबीएम र क्रुज मिसाइल प्रक्षेपण
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
2.7k
Shares
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिएका छन्। यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणहरू समेत समावेश गरिएको छ।
क्रेमलिनका अनुसार, रूसको ‘आणविक त्रिकोण’ (स्थल, समुद्र र हावाबाट मिसाइल प्रहार गर्न सक्ने क्षमता) समावेश गरिएको उक्त युद्धाभ्यासका क्रममा उत्तर पश्चिमी रूसको प्लेसेत्स्क प्रक्षेपण केन्द्रबाट यर्स आइसिबिएम प्रक्षेपण गरिएको थियो। त्यस्तै, बेरेन्ट्स सागरमा तैनाथ पनडुब्बीबाट सिनेभा आइसिबिएम प्रक्षेपण गरिएको र टियु–९५ रणनीतिक बमवर्षकहरूले लामो दूरीका क्रुज मिसाइलहरू प्रहार गरेको बताइएको छ।
क्रेमलिनले यो अभ्यासले सैन्य कमान्ड संरचनाको दक्षता र प्रतिक्रियात्मक क्षमताको परीक्षण गरेको उल्लेख गरेको छ। सेनाको जनरल स्टाफ प्रमुख, जनरल भ्यालेरी गेरासिमोभले भिडियो लिङ्कमार्फत राष्ट्रपति पुटिनलाई प्रतिवेदन दिँदै अभ्यासको मुख्य उद्देश्य ‘आणविक हतियार प्रयोगका लागि अनुमति प्रक्रियाको अभ्यास’ रहेको बताए।
राष्ट्रपति पुटिनले युद्धाभ्यास पहिले नै निर्धारित कार्यक्रमअनुसार गरिएको भन्दै त्यसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलन स्थगित हुने घटनासँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पारे। यद्यपि, यो अभ्यास ट्रम्पले बुडापेस्टमा पुटिनसँगको आफ्नो नियोजित छोटो बैठक ‘समयको बर्बादी’ हुन सक्ने भन्दै स्थगित गरेको केही घण्टापछि भएको थियो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पुटिन–ट्रम्प शिखर सम्मेलनलाई ‘गम्भीर तयारी आवश्यक हुने उच्चस्तरीय संवाद’ का रूपमा वर्णन गर्दै प्रभावकारी परिणामका लागि तयारी अनिवार्य हुने बताए। यसैबीच, रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसले युक्रेनमा तत्काल युद्धविरामको विरोध गर्ने र लामो अवधिको स्थायी शान्ति वार्ताअघि परिस्थितिको स्पष्ट मूल्याङ्कन आवश्यक रहेको टिप्पणी गरेका छन्।