arrow

सवारी साधन चोरी बढ्दो: गत वर्ष ६७ मध्ये १७ मात्र फेला, पत्ता लाग्न सकेनन् चोर

प्रदेशमा सबैभन्दा धेरै सवारी साधन हराउने जिल्ला कास्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
hetauda-vehicles.jpg

बागलुङ । गण्डकी प्रदेशमा सवारी साधन चोरीको सङ्ख्या बढ्दो क्रममा रहे पनि फेला पर्ने दर भने निकै कम देखिएको छ। गत आर्थिक वर्ष (आव) मा प्रदेशभर चारपाङ्ग्रे दुई र दुई पाङ्ग्रे ६५ वटा गरी कूल ६७ सवारी साधन चोरी भएका थिए। तीमध्ये हालसम्म जम्मा १७ वटा (१ चारपाङ्ग्रे र १६ दुईपाङ्ग्रे) मात्र फेला परेका छन् भने ४८ वटा अझै खोजीको क्रममा छन्।

चालु आर्थिक वर्षमा पनि हालसम्म दुईवटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ तर एउटा पनि फेला परेको छैन। पछिल्लो समय पार्किङमा राखिएको अवस्थामा वा रातको समयमा घरबाटै सवारी साधान चोरी हुने घटना बढेका छन्।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै सवारी साधन हराउने जिल्ला कास्की हो। गत आवमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ वटा दुईपाङ्ग्रे सवारी हराएको उजुरी परेकोमा १५ वटा मात्र फेला परेका थिए। नवलपुर दोस्रो र बागलुङ तेस्रो शीर्ष स्थानमा छन्। नवलपुरबाट गत आवमा चोरी भएका १६ वटै दुईपाङ्ग्रे सवारी हालसम्म फेला परेका छैनन्।

बागलुङमा गत आवमा १ चारपाङ्ग्रे र ३ दुईपाङ्ग्रे सवारी हराएकोमा २ वटा फेला परेका थिए। तर, चालु आवमा समेत गरी बागलुङमा ३ वटा दुईपाङ्ग्रे सवारी अहिले पनि हराएको सूचीमा छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार फेला परेका सवारी साधनहरू प्रायः बेवारिसे अवस्थामा भेटिएका थिए। सवारी साधन फेला परे पनि सवारी चोरी गर्ने व्यक्तिहरू भने हालसम्म फेला पर्न सकेका छैनन्। प्रहरीले चोरी भएको जानकारी प्राप्त भएपछि सवारीसँगै चोरी गर्ने व्यक्तिको पनि खोजी गर्ने गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ