चक्रवात 'मोन्था' को असर: कोशी, बागमती र गण्डकीमा भारी हिमपात, नदीहरूमा बहाव बढ्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
1.1k
Shares
काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
विभागले चक्रवातको असरले देशका बागमती, कमला, कोशी र कन्काई नदी र यिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ। यी क्षेत्रमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ। साथै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ।
विभागले बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको जनाएको छ।
सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागले बताएको छ। हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ र यसपछि चक्रवातको प्रभाव विस्तारै कमजोर हुँदै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ।