काठमाडौँ । नेपाली कांग्रेस अन्तरमहानगर कार्यसमितिले तत्काल पार्टीको महाधिवेशन कार्ययोजना ल्याउन माग गरेको छ ।
अन्तर्रमहानगर कार्यसमितिको बुधबार कांग्रेस ललितपुर महानगर कार्यसमिति सभापति सुभानन धाख्वाको सभापतित्वमा सम्पन्न बैठकले बदलिँदो परिस्थिति, जेन–जी आन्दोलन र आम नेपालीहरुको जनचाहना अनुरुप परिवर्तन जरुरी रहेको निष्कर्ष निकालेको छ ।
जसका लागि देशभित्र व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन र दोषी उपर कारबाहीको माग तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सो उपर तत्काल निर्णय गरोस् भनी जोडदार माग गरेको छ ।
त्यस्तै आम जनमानस एवम् पार्टी कार्यकर्ताहरुमा नेतृत्वप्रति देखिएको वितृष्णा तथा विशेष महाधिवेशनको मागलाईसमेत सम्बोधन गर्ने गरी तत्काल कार्यतालिका सहितको नियमित महाधिवेशन कार्ययोजना बिहीबारदेखि निरन्तर चल्ने केन्द्रीय कार्यसमितिको बैठकवाट निर्णय गर्न माग गरेको छ ।
साथै पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सम्भव बनाउनको लागि देशका ६ वटा महानगरपालिका कार्यसमितिले पालिकाहरुसँग समन्वय गरी नियमित महाधिवेशन गर्न सहयोग र समन्वय गर्न तत्पर रहेकोसमेत अन्तरमहानगर कार्यसमितिले जनाएको छ ।
महाधिवेशनका लागि प्रस्तावित कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । जसअनुसार
क. दुई हप्ताभित्र सम्पूर्ण क्रियाशील सदस्यता सम्बन्धी प्रक्रिया पूरा गर्ने ।
ख. पहिलो ५ दिनभित्र वडादेखि क्षेत्रस्तरीय सम्मका अधिवेशनहरु सम्पन्न गर्ने ।
ग. दोस्रो अर्को ५ दिनभित्र जिला र प्रदेशस्तरीय अधिवेशन सम्पन्न गर्ने ।
घ. तेस्रो ५ दिनभित्र केन्द्रीयस्तरको अधिवेशन सम्पन्न गर्न सम्भव छ ।
यी माथिका कार्यतालिका वमोजिम एक महिना भित्रै महाधिवेशन सम्पन्न गर्न संभव भएको छ वटै महानगर कार्यसमितिले जोडदार माग गरेको छ ।