पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव: देशभर बदली, धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
आवश्यक सतर्कता अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1k
Shares
काठमाडौँ। हाल देशका विभिन्न भागमा पश्चिमी वायुको सक्रिय प्रभाव, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा अधिकांश समय बादल लाग्नेछ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ। आज कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ। महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ।
महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।