कांग्रेसभित्र 'जेन-जी' युवाको माग: 'आन्तरिक सुशासन आयोग' गठन गरी महाधिवेशनको रोडम्याप सार्वजनिक होस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसमा आबद्ध जेन-जी उमेर समूहका प्रतिनिधिमूलक युवाहरूले मुलुकमा सुशासन कायम गर्नका लागि पार्टीभित्रैबाट सुधारको सुरुवात हुनुपर्ने भन्दै 'आन्तरिक सुशासन आयोग' गठन गर्न माग गरेका छन्।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गर्ने र भविष्यमा मापदण्डमा आधारित अनुगमन तथा कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने माग राखेका हुन्।
जेन-जी प्रतिनिधि विकल राईले पत्रकार सम्मेलनमा बोल्दै, मुलुकमा सुशासन कायम गर्नु जेन-जी प्रदर्शनको मुख्य माग रहेको बताए। उनले नेपाली कांग्रेसले तीनै तहमा गएका जनप्रतिनिधिहरूको विगतका प्रवृत्तिको समीक्षा गर्न तथा भविष्यमा जाने जनप्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गर्न पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गर्नुपर्नेमा जोड दिए।
राईले पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेन-जीको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरे। साथै, उनले भदौ २४ गते जेन-जीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने कुरामा पार्टी दृढ रहनुपर्ने बताए। उनले भ्रष्टाचारको गहिराइमा गएर निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने कुरामा नेपाली कांग्रेसको सहयोग आवश्यक रहेको बताए।
उनले नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रूपमा नयाँ ऊर्जाका साथ अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गरे। राईले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए।