चक्रवात 'मोन्था' को प्रभाव जारी: देशभर बदली, आज साँझसम्म भारी वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.3k
Shares
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भएको चक्रवात 'मोन्था' हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेकाले यसको प्रभावका कारण नेपालको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज साँझपछि भने मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ। यसका साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
आज कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा को सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ।
यसैबीच, कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम हिमपात र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा पनि हिमपातको सम्भावना छ। विशेष गरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात को पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।