अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1k
Shares
काठमाडौँ । बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, कोशी राजमार्गको सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्ध क्षेत्रमा बीपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग तथा नेपाल–चीन जोड्ने पुल र सिन्धुलीमा मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएका छन्।
यद्यपि, पहिरोले अवरुद्ध भएका केही सडकखण्ड भने एकतर्फी सञ्चालनमा आएका छन्। प्रहरी प्रवक्ता विनोद घिमिरेले दिएको जानकारीअनुसार, जोमसोम–कोराला खण्ड, म्याग्दीमा बेनी–दरबाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।