महाधिवेशन तालिका विवाद: कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित [भिडियो]
महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशनका लागि कार्यतालिकासहितको प्रतिवेदन बैठकमा पेस गर्ने तयारी गरेका थिए
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.3k
Shares
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनको विषयमा कुरा मिल्न नसकेपछि आइतबारसम्मका लागि स्थगित गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको बैठक आपसी सरसल्लाह र समझदारीका साथ महाधिवेशन गर्ने उद्देश्यले पछि सारिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। उनले मुलुक संकटमा परेको बेला पार्टीभित्र विवाद हुनु राम्रो नभएको बताए।
प्रवक्ता महतले भने, "अझ सरसल्लाह, समझदारी विकसित गर्नुपर्यो। त्यसकारण आज स्थगित गर्ने कुरा आयो।" उनले सबैको सहभागितामा सरसल्लाह गरेर पार्टीको हितमा एउटा निष्कर्ष निकाल्न कोसिस गर्ने बताए। उनले देशले नेपाली कांग्रेसलाई एकीकृत भएर आउन खोजिरहेको बेला अधिवेशनको विषयलाई धेरै विवादको विषय नबनाई पारदर्शी ढङ्गले सम्पन्न गर्नतिर लाग्नुपर्नेमा जोड दिए।
महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशनका लागि कार्यतालिकासहितको प्रतिवेदन बैठकमा पेस गर्ने तयारी गरेका थिए। यता, संस्थापन पक्षले भने आगामी निर्वाचनका लागि पनि महाधिवेशनलाई मंसिरपछि सार्नुपर्ने धारणा राख्दै अहिलेनै कार्यतालिका आवश्यक नभएको जिकिर गर्दै आएको छ।