arrow

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
puspakamal-dahal-prachanda-15-07.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण भएको बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको दावी गरे ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै प्रचण्डले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’ का रूपमा व्याख्या गरे ।

उनले भने, ‘२३ र २४ का घटनाक्रमले देखाएको छ, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ । जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।’

सम्बोधनको प्रारम्भमा प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तको भावनालाई सम्मान गर्दै भने, ‘हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो । म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु ।’

उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे ।

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे ।

‘हामी अहिले साम्राज्यवादसँग सिधै आमनेसामने छौँ । अब प्रश्न छ, समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,’ उनले भने ।

उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गरे ।

गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुँजीवादी शक्तिको समेत साथ र सहयोगबाट सम्भव भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ