‘मोन्था’को प्रभाव घट्दै, पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
849
Shares
काठमाडौँ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि, पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही स्थानमा वर्षाको सम्भावना भने कायमै रहेको छ।
विभागका अनुसार, आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ, भने मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा समेत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको विभागले जनाएको छ।