पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
673
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार, देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ। विशेष गरी, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
केही दिनअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ कारण वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो। सोही क्रममा मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा हिमपातका कारण फसेका आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटकलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले सफलतापूर्वक उद्धार गरेको थियो।
यसैबीच, राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्मको अवधिमा देशभरका ३०१ वर्षा मापन केन्द्रमध्ये १८५ वटा केन्द्रले उल्लेख्य मात्रामा वर्षा मापन गरेका थिए। तीमध्ये लमजुङको बेसीशहर केन्द्रमा ७१.१ मिलिमिटर सबैभन्दा बढी वर्षा मापन भएको थियो। कुल मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको थियो।