पर्यटकीय यामको अक्टोबरमा १ लाख २८ हजारभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
841
Shares
काठमाडौँ । सन् २०२५ को अक्टोबर महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या १ लाख २८ हजार ४४३ पुगेको छ। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यस वर्षको जनवरीदेखि अक्टोबरसम्मको १० महिनाको अवधिमा नेपाल आउने पर्यटकको कुल सङ्ख्या ९ लाख ४३ हजार ७१६ पुगेको छ।
अक्टोबर महिनामा यूरोपबाट ४० हजार ५०० पर्यटक नेपाल आएका थिए, जुन सबैभन्दा बढी हो। यस्तै, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, अमेरिकाबाट १६ हजार ४०७, ओसियानाबाट छ हजार ८१४, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन्।
देशगत रूपमा हेर्दा, अक्टोबरमा भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६ र अष्ट्रेलियाबाट छ हजार १७७ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्य प्रमुख स्रोत मुलुकहरूमा श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल आएको बोर्डले उल्लेख गरेको छ।