देशमा पश्चिमी वायुको आंशिक प्रभाव: पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
763
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना छ।
आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसबाहेक, अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा-हिमपात हुन सक्छ। तराई क्षेत्रतर्फ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।